काठमाडौं । दर्जनौं चलचित्रमा संगीत दिएर चर्चा कमाएका चेतन सापकोटा र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीमाथि अर्काकी छोरी समातेको गम्भीर आरोप लागेको छ । भण्डारी एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् भने सापकोटा केन्द्रीय सदस्य । यी दुवैलाई राप्रपाका नेता प्रेम देशारकी छोरी र श्रीमतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रले छानबिन प्रक्रिया अन्तिम चरणमा पु-याएको छ ।
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सांस्कृतिक विचलनको आरोपमा उनीहरूमाथि छानबिन गरी प्रतिवेदन बुझाउन विश्वभक्त दुलाल आहूति र बलराम तिमल्सिनालाई जिम्मा दिएका छन् । आहूति र तिमल्सिनाले सापकोटा र भण्डारीमाथि सोधपुछ गरिरहेका छन् भने राप्रपा नेता प्रेम देशारलाई बोलाएर घटनाबारे यथार्थ जानकारी दिन भनेको पेरिसडाँडा स्रोतले बतायो । देशारले पेरिसडाँडामा दिएको लिखित उजुरीका आधारमा माओवादी केन्द्रले दुवैमाथि छानबिन प्रक्रिया अघि बढाएको हो ।

के भएको थियो ?
घटना करिब दुई साताअघिको हो । भण्डारी र संगीतकार सापकोटा मैतीदेवीको एक रेस्टुरेन्टमा बसेर खाजा खाँदै थिए । त्यही बेला सुदीप सापकोटा नाम गरेका माओवादी कार्यकर्ताले सापकोटालाई फोन गरे । उनी पाटनको कुनै एक रेस्टुरेन्टमा राप्रपा नेता प्रेम देशारसँग बसेर रक्सी खाँदै थिए । चापागाउँवासी देशार केही समयदेखि राप्रपाको राजनीति छाडेर माओवादी प्रवेश गर्ने विषयमा सो पार्टीका नेता कार्यकर्तासँग छलफलमा थिए । त्यसदिन पनि सोही विषयमा कुराकानी भइरहेको थियो ।
सुदीपले भण्डारी र सापकोटालाई पाटनतिर आउन आग्रह गरे । दुवै पाटन पुगे । सोही रेस्टुरेन्टमा बसेर देशार, भण्डारी र चेतन सापकोटाले राति साढे १० बजेसम्म रक्सी खाए । सोही क्रममा उनीहरूबीच राम्रो सम्बन्ध स्थापित भयो । रक्सी धेरै खाएपछि सापकोटा र भण्डारी हिँड्न नसक्ने अवस्थामा पुगे । देशारले उनीहरूलाई आफ्नै घर चापागाउँ जान आग्रह गरे । भण्डारी र सापकोटालाई लिएर उनी चापागाउँ पुगे । कुराकानीकै क्रममा भण्डारी र सापकोटाले देशारलाई माओवादी प्रवेश गराउन आफूहरूले सहयोग गर्ने बताएका थिए ।
मध्यराति उनीहरू चापागाउँस्थित देशारको निवास पुगे । घरमा देशारकी श्रीमती र छोरी टिभी हेरेर बसेका थिए । देशारले सापकोटा र भण्डारीको परिचय गराइदिए । देशारकी छोरी मोडलिङ र संगीतप्रति बढी सौखिन रहिछन् । संगीतकार भएकाले सापकोटाले देशारकी छोरीलाई गितार यसरी बजाउने हो भन्दै सिकाउन थाले । उनी रक्सीले टिल्ल थिए । बाबुआमाकै अगाडि चेतनले छोरीको हात समाउने, जिस्काउने, स्पर्श गर्न थाले । गफगाफ गर्दागर्दै साढे १२ बजिसकेको थियो । देशारकी श्रीमती अर्को कोठामा सुत्न गइन् । देशार पनि उनीहरूलाई त्यहीँ छाडेर सुत्न गए । त्यही मौकामा चेतन र भण्डारीले देशारकी छोरीलाई जबर्जस्ती गर्न थाले । छोरीलाई समातेर यौन दुव्र्यवहार गरेको थाहा पाएपछि देशारकी श्रीमती आएर चिच्याइन् । उनलाई पनि चेतनले सोही व्यवहार गरेका थिए । श्रीमती कराएपछि प्रेम देशार आएर भकाभक चेतन र गणेशलाई कुट्न थाले । केही समय दुवै पक्षबीच फाइट चल्यो । देशार ताइक्वान्दोका ब्ल्याकबेल्ट पनि भएकाले उनले सापकोटा र भण्डारी दुवैलाई लोत हुने गरी चुटे । त्यसपछि गणेश र चेतन त्यहाँबाट भागे । देशारले छोरीलाई राति अर्कैको घरमा सुताएको बताइन्छ ।
मध्यराति भाग्ने क्रममा दुवै आ–आफ्नो ढंगले हिडेका थिए । चेतन र गणेश खाली खुट्टामा भागेका थिए । उनीहरूले जुत्ता देशारकै घरमा छाडेर भागेको बुझिएको छ । भाग्दा भाग्दा गणेश बिहान ३ बजे गोदाबरी निस्केका थिए । बिहान ५ बजेतिर मात्र बल्ल एउटा ट्याक्सीलाई अनुरोध गरेपछि गणेश आफ्नो घरमा पुगेका थिए ।

कसरी खुल्यो पोल ?
चेतन र गणेशले आफ्नो श्रीमती र छोरीप्रति गरेको दुव्र्यवहारले प्रेम देशार पीडामा थिए । उनी यो कुरा जसरी पनि बाहिर ल्याउन चाहन्थे । सोही क्रममा उनले माओवादीकै एक नेता अर्जुन खालिङलाई यो कुरा सेयर गरे । खालिङले माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गोपाल किराँतीलाई चेतन र गणेशको हर्कतबारे सबै बताइदिए । किराँतीले माओवादी नेता रामबहादुर थापा बादलकहाँ यो कुरा पु¥याए । माओवादी नेताहरूकै आग्रहमा देशारले पेरिसडाँडामा उजुरी हालेको बताइन्छ । त्यसपछि नेता बादलले माओवादी सांस्कृतिक विभागका प्रमुख आहूति र बलराम तिमल्सिनालाई घटनाबारे छानबिन गर्न निर्देशन दिएका हुन् ।

माओवादी कलाकारमा खैलाबैला
सापकोटा र भण्डारीको यो हर्कतले माओवादी कलाकारमा खैलाबैला मच्चिएको छ । उनीहरूमाथि सांस्कृतिक विचलनको आरोपमा कडा कारबाही नगरे धेरै कलाकार साहित्यकारले माओवादी पार्टी छाड्ने चेतावनी दिएका छन् । जसका कारण आहूति र तिमल्सिनाले यही हप्ताभित्र छानबिन टुंग्याउने प्रतिबद्धता जनाएको बुझिएको छ । माओवादी केन्द्रीय सदस्य एवं निर्माता निर्देशक केपी पाठकले फेसबुकमा अप्रत्यक्ष रूपमा सो विषयबारे स्टाटस राखेपछि ‘सापकोटा र भण्डारीको यौन दुव्र्यवहार’ को पोल खुलेको हो । माओवादीका १० वटा घटक मिलेर नेकपा माओवादी केन्द्र भएकाले अन्य माओवादी सम्बद्ध कलाकार संघ संगठनले यो घटनालाई चाँडो टुंग्याए मात्र एकता हुने भनेर चेतावनी दिएपछि आहूति र तिमल्सिना कसरी विवाद मिलाउने भन्ने चिन्ता र चिन्तनमा छन् । सो काण्डमा मुछिएका भण्डारीले भने आफूले गल्ती नगरेको, तर चेतनले गरेको गल्तीको सजाय आफू भोग्न तयार भएको निकटहरूलाई बताउने गरेका छन् । उनले यस विषयमा पार्टीले छानबिन गरिरहेको र त्यसमा आफूले सहयोग गर्ने बताएका छन् । भण्डारीले आफ्नो फेसबुक स्टाटसमै सो कुरा उल्लेख गरेका छन् ।

घटना ढिसमिस पार्न सापकोटाको दौडधूप
भण्डारीले गल्ती स्वीकारिसके पनि सापकोटा भने अझै पनि लुकिछलि हिँड्ने गरेका छन् । माओवादी स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुन, उपप्रधानमन्त्री कृष्णबहादुर महरा पुत्र एटम महरा, अग्नि सापकोटा, वाईसीएलका अध्यक्ष दीपशिखालाई यो घटनालाई ढिसमिस पार्न प्रयोग गरिरहेका छन् । सापकोटा माओवादी नेता अग्नि सापकोटा र वाईसीएलका अध्यक्ष दीपशिखा उर्फ रामप्रसाद सापकोटाका आफन्त हुन् । माओवादी शीर्ष नेताहरूको धाक देखाएर उनले उछृङखल गतिविधि गर्दै आएको जनसांस्कृतिक महासंघका सदस्यहरू बताउँछन् ।

http://www.nepalbritain.com बाट साभार